नशामुक्ति केन्द्रका रोगीहरूलाई ताईक्वाण्डोप्रति आकर्षित गराउन कार्यक्रम
गान्तोक, 22 अगस्तः यहाँको ताथाङ्चेनस्थित फ्रिडम फेसेलिटी नशामुक्ति केन्द्र (रिहेभ सेन्टर) मा नशालु पदार्थ सेवनमाथि जागरूकता फैलाउने तथा केन्द्रमा उपचारधीन रोगीहरूलाई ताईक्वाण्डो खेलप्रति प्रोत्साहित गराउने उद्देश्यका साथ 20 अगस्तको दिन एक कार्यक्रम सम्पन्न भयो।फ्रिडम फेसेलिटी रिहेभ सेन्टरद्वारा आयोजित उक्त जागरूकता कार्यक्रममा मुख्य अतिथिको रूपमा सिक्किम अमेच्योर ताईक्वाण्डो एसोसिएशन (साटा) का संयुक्त सचिव तथा उपप्रमुख प्रशिक्षक राजेन सुब्बा उपस्थित थिए भने विशिष्ट अतिथिमा स्वास्थ्य विभागका उपसचिव सुश्री पेमा ल्हमु तामाङ उपस्थित रहेकी थिइन्। यसरी नै अन्य अतिथिहरूमा साटाका वरिष्ठ ताईक्वाण्डो प्रशिक्षकहरू फुर्बा शेर्पा, विजय गुरूङ, प्रितुमन थापा, सुमन तामाङ, सोही केन्द्रका सञ्चालक के.सी. निमा भोटिया आदिको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको अवसरमा ग्रिनडेल स्कूल ताईक्वाण्डो डोजाङका कोच सुमन तामाङको नेतृत्वमा डोजाङका खेलाड़ीहरूले आफ्नो खेल कौशलको प्रदर्शन गर्दै केन्द्रका उपचारधीन रोगीहरूलाई ताईक्वाण्डो खेलप्रति प्रोत्साहित गराए।
उल्लेख्य, फ्रिडम फेसेलिटी रिहेभ सेन्टरमा प्रशिक्षक निमा शेर्पाको अगुवाईमा त्यहाँ उपचार गरिरहेका रोगीहरूले ताईक्वाण्डोको प्रशिक्षण लिइरहेका छन् भने यो कार्यक्रम आयोजनाको मुख्य उद्देश्य पनि उनीहरूलाई खेलप्रति प्रोत्साहित गरेर नशालु पदार्थदेखि टाढ़ा राख्नु रहेको थियो।
Category: Health Related News Sikkim Government sports

0 comments