एक युगको अन्त्य
सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन

गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको 17 जुलाईको दिन निधन भयो। 17 जुलाई अपराह्न लगभग 3.30 बजी नयाँ दिल्लीको एउटा अस्पतालमा उनले अन्तिम स्वास लिए। केही समयदेखि अस्वस्थ भएर उपचारको निम्ति उनी नयाँ दिल्लीमा थिए। 1973-को जन-आन्दोलनमा उनको ढाड़मा सीआरपीएफले लाठी हिर्काएको हुँदा अहिले आएर त्यसको पीड़ा बल्झिएको थियो। केही समयदेखि उनी मेरुदण्डको पीड़ाले ग्रस्त भएपछि नयाँ दिल्लीको विभिन्न अस्पतालहरूमा उपचार गराउँदैथिए। यसै उपचारको क्रममा दिल्लीको प्राइम्स अस्पतालका चिकित्सकहरूको सल्लाह बमोजिम गत शुक्रवार 14 जुलाईको दिन उनको मेरुदण्डको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि आज अचानक अस्पतालमै उनले अन्तिम स्वास लिए।
भण्डारीको निधनको खबर जंगलमा आगो सल्केको जस्तो गरी फैलियो। उनको निधनको खबरले समग्र सिक्किम शोकमा डुब्यो। 76 वर्षीय नरबहादुर भण्डारी सिक्किमका पूर्व मुख्यमन्त्री हुनका साथै भारतीय नेपालीभाषी समुदायका एक अभिभावकको रूपमा परिचित छन्। प्रजातान्त्रिक सिक्किमको निर्माताको रूपमा परिचित भण्डारीको जन्म 5 अक्टोबर 1940-मा पश्चिम सिक्किमको सोरेङस्थित मलबाँसेमा भएको हो। नरबहादुर भण्डारीले सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा आफूलाई सम्पूर्ण रूपमा होमिदिएका थिए। उनले 1979 देखि 1994-सम्म तीनपल्ट मुख्यमन्त्रीको पदमा रहेर सिक्किमलाई सेवा पुर्याइसकेका छन्। 1994-देखि 2004 सम्म दश वर्ष उनले विधायकको हैसियतमा विपक्षमा बसेर जनसेवाको काम गरे। दार्जीलिङको सरकारी महाविद्यालयबाट स्नातक गरेका भण्डारीले शिक्षण पेशाबाट आफ्नो यात्रा गरेर पछि राजनीतिमा पाइला राखे अनि जनताको सेवामा आफ्नो सम्पूर्ण जीवन न्यौछावर गरे।
विशेष गरेर सिक्किमको प्रजातान्त्रिक आन्दोलन अनि त्यसपछिको राजनीतिमा उनले अभिभावकको भूमिका निर्वाह गरेका थिए। सिक्किम र सिक्किमकोहक र अधिकारको सुरक्षाको निम्ति संधै लागिपर्ने भण्डारी सिक्किमको माटोको सुरक्षाको निम्ति
अहिले सामाजिक सञ्जालमा भण्डारीलाई आफ्नो राजनीतिक गुरु मान्दै उनको निधनले सिक्किममा मात्र नभएर भारतीय नेपालीभाषीमै अपुरणीय क्षति भएको बताउँदै सबैले संवेदना व्यक्त गरेका छन्। भण्डारीको निधनले सिक्किमको राजनीतिमा एउटा युगको अन्त भएको छ भने राजतन्त्रको विरोध र प्रजातन्त्रलाई आफ्नो काँधमा बोकेको इतिहासको पनि आज अवसान भएको छ। आफ्नो मुख्यमन्त्रीत्व कालमै उनले भारतीय नेपाली समाजलाई एकजुट गराउन र भारतीय नेपालीहरूलाई सुरक्षा प्रदान गर्ने लक्ष्य राख्दै त्यस दिशामा पहल गरेका थिए। उनकै पहलमा नेपाली भाषाले देशको संविधानको आठौं अनुसूचिमा अन्तर्भुक्ति पाएको हो।
आफ्नो राजनीतिक जीवनमा कस्तै परिस्थिति आएपनि जनसेवालाई नभुल्ने अनि झुक्न नमान्ने स्वभावका भण्डारीले धेरैपल्ट जेल पनि जानुपर्यो। मानव सेवा सँगसँगै जातिको सेवाको लागि सधैं आफूलाई तत्पर राख्ने भण्डारीको निधनको खबर फैलिनसाथ समग्र सिक्किम शोकमा डुब्यो। उनको निधनको खबरले भारतभरिका नेपालीभाषी समुदाय शोकित बन्दै समवेदनाहरू व्यक्त गरिरहेका छन्। भारतमात्र नभएर विदेशबाट पनि उनको निधनमा शोक-समवेदनाहरू प्रकट गरिएको छ।
नरबहादुर भण्डारीले आफूपछि श्रीमती दिलकुमारी भण्डारी (पूर्व लोकसभा सांसद), तीन छोरीहरू र एक छोरा तथा नाता-नातिनाहरू छोड़ेर गएका छन्।
(Hamroprajashakti)
Category: Featured Sikkim Government
0 comments