चारधामको निर्माण गरेर मुख्यमन्त्री चामलिङले देशमा प्रशंसनीय कार्य गरेका छन्- सतपाल महाराज
गान्तोक, 14 अप्रेल। आर्थिक विपन्नता र गरीबीको कारण चारधामको तार्थाटन गर्न असमर्थ मानिसहरूका निम्ति सिक्किमका मुख्यमन्त्री पवन चामलिङले सिक्किमको नाम्चीमा एकै स्थानमा चारधामको निर्माण गरेर अति नै प्रशंसनीय र सराहनीय कार्य गरेको मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराजले बताएका छन्।
उत्तराखण्ड राज्यको तीर्थ नगरी हरिद्वारमा मानव उत्थान सेवा समितिद्वारा आयोजित तीनदिवसीय वैशाखी महोत्सव तथा सदभावना सम्मेलनलाई सम्बोधन गर्दै संस्थापक सतपाल महाराजले एकसाथ चारधामको निर्माण गरेर मुख्यमन्त्री चामलिङले एउटा उदाहरणीय र प्रेरणादायी कार्य गरेको बताएका छन्। आफुले पनि धेरैपटक सिक्किमको चारधामको भ्रमण गरेको उल्लेख गर्दै महाराजले सिक्किमका गरीब मानिसहरूले टाड़ाको चारधाम तीर्थाटन गर्न नसके पनि सरकारद्वारा निर्माण गरिदिएको चारधामको दर्शन गर्ने अवसर प्राप्त गरेको बताए।
यस अवसरमा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत मुख्य अतिथिका रूपमा उपस्थित थिए। मानव उत्थान सेवा समितिद्वारा प्रत्येक वर्ष विक्रमी सम्वत नयाँ वर्षमा उत्तराखण्डको तीर्थ नगरी हरिद्वारमा वैशाखी महोत्सव आयोजन गरिन्छ। यस महोत्सवमा देशको विभिन्न राज्यहरू लगायत विदेशबाट लाखौं संख्यामा मानव धर्मका अनुयायीहरू आफ्ना गुरू महाराजको दर्शनका निम्ति हरिद्वार आउने गर्छन्।
Category: Religion-Faith Sikkim Government
0 comments