राष्ट्रिय पुरस्कारद्वारा शिक्षिका प्रभा आले सम्मानित
नक्सलबारी, ७ सेप्टेम्बर
प्रकाश फुँयल
देशको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका शिक्षक-शिक्षिकाहरूलाई हिजो शिक्षक दिवसको दिन एउटा भव्य कार्यक्रममा महामहिम राष्ट्रपति प्रणव मुखर्जीको बाहुलीबाट सम्मान जनाइयो।
मानव संसाधन विकास मन्त्रालयको आयोजनामा दिल्लीको विज्ञान भवनमा आयोजित एक समारोहमा देशभरिका शिक्षक-शिक्षिकाहरूलाई उनीहरूको आफ्नो कर्तव्यप्रतिको लगनशीलता र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरेबापत सम्मान जनाइएको थियो। यस किसिमको राष्ट्रियस्तरको सम्मान समारोहमा खोरीबारी ब्लक अन्तर्गत सुकारुजोत बतासी निवासी नेपालीभाषी शिक्षिका प्रभा आलेलाई पनि सो अवसरमा सम्मानि गरिएको छ।
खोरीबारी ब्लक अन्तर्गतको सुकारूजोतको मूल निवासी रहे पनि ४७ वर्षीय शिक्षिका प्रभा आले अरूणाचल प्रदेशको पपुम्पारे जिल्लाको पीटीसी बन्दरदेवा प्राथमिक पाठशालामा सन् १९८८ देखि कार्यरत रहेको परिवार स्रोतले जानकारी दिएको छ। शिक्षिका आलेले आफ्नो कार्यावधिमा विद्यार्थीहरूमा अनुशासन, विद्यालयको ढाँचामा परिवर्तन तथा गुणस्तरीय शिक्षा प्रदान गर्नमा उल्लेख्य योगदान पुराएबापद राष्ट्रियस्तरको सम्मान प्राप्त गरेका हुन्।
0 comments