हेभन्ली पाथले राई जातिको भाषा-संस्कृतिमाथि अतिक्रमण एवं राई समुदायको आर्थिक शोषण गरिरहेको एकेआरएसको आरोप
गान्तोक: हेभन्ली पाथ सङ्गठन (एचपीओ) का प्रवर्त्तक गड एञ्जलको नामले चिनिने भक्तकुमार राईले राई जातिको भाषा-संस्कृतिमाथि अतिक्रमण मात्र होइन राई समुदायका सिधा-साधा मानिसहरूलाई आर्थिक शोषण पनि गरिररहेको अखिल किरात राई संघ (एकेआरएस)का सल्लाहकार एवं दुग्ध उत्पादन संघका अध्यक्ष एमबी राईले आरोप लगाएका छन्। एकेआरएसद्वारा आयोजित राज्यस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै आज सल्लाहकार एमबी राईले भक्त कुमार राईमाथि यो आरोप लगाएका हुन्।
सल्लाहकार एमबी राईले अझ भने, गड एञ्जल भनेर चिनिने भक्तकुमार राईले ‘राई’ को बद्लीमा एञ्जल जोड्ने काम गरेर राईहरूको अस्तित्वलाई मास्ने काम गरिरहेका छन्। राई जातिको तथाकथित गुरूको रूपमा आएर भक्तकुमार राईले राई जातिलाई मात्र होइन सारा संसारलाई दिग्भ्रमित गराउने लक्ष्य लिएर विभिन्न थरिको सङ्गठन चलाउँदै अघि बढिरहेका छन्। यस्ता छेपारोजस्तो रङ बदलिरहने गड एञ्जल भक्तकुमार राई तथा हेभन्ली पाथ सङ्गठनसँग सबै सतर्क रहनुपर्ने कुरामा सल्लाहकार राईले जोर दिएका छन्। राई जातिले आफ्नो भाषा, संस्कृतिको विकास र संरक्षणमा काम गर्नुपर्छ।
एचपीओको साहारा लिएर गड एञ्जेल भएर राई जातिको गुरुको ढोङ र स्वाङ रचाएर गड एञ्जलको रूपमा भक्तकुमार राईले राईको नामनै मसाउने काम गरिरहेको थप आरोप लगाउँदै एमबी राईले भक्तजनको जात-थरलाई एञ्जलमा परिवर्तन गरिरहेको र जातिको पहिचानको मुख्य आधार चुल्हा नै उखेल्ने काम हेभन्ली पाथ सङ्गठनका गड एञ्जल भक्तकुमार राईले गरिरहेको बताए। हेभन्ली पाथका गुरू गड एञ्जलको अर्थबिहिनको ‘निस्वी’ किताब पढेर बाबुको क्रियाकर्म हुँदैन, गुरुको फोटो राखेर कुलको पुजा गरिँदैन भन्दै चरित्र नबुझी कसैलाई गुरुको सम्मान र दर्जा कहिले दिनु हुँदैन, उनले भने। उनले सिधा-साधा राई जाति आजको तक्निकीय युगमा प्रवेश गरिसकेका छैनन् भन्दै सिधा-साधा राई जातिलाई दिग्भ्रमित गराउन भक्तकुमार राईले कुनै कसर नछोडेको बताए। हेभन्ली पाथका गड एञ्जल भनेर चिनिने भक्तकुमार राईले बहुरूप फेरेको पनि उनले आरोप लगाए। भक्तकुमार राईले सिधा- सोझाहरूलाई दिग्भ्रमित गराउनु र राई भाषा र संस्कृतिको अतिक्रमण गर्नु बाल तपश्वी, दोस्रो रूप सद्गुरू ओमनन्द, तेस्रो रूप किरात बाबा, चौंथो रूप सुप्रीम मास्टर, पाँचौं रूप गड एञ्जल, पोखरी बाबा, नेपाली बाबा, भक्त बाबाको रूप समय-समयमा फेरेको एमबी राईले बताए। यस्ता छेपारो (गिरगिड) जस्तो रङ फेरिबस्ने भक्तकुमार राईजस्ता व्यक्तिहरूसँग राई जाति मात्र होइन सबै जाति-समुदायहरू सतर्क रहनुपर्ने विचार उनले व्यक्त गरे। गड एञ्जल भक्तकुमार राईविरुद्ध एकेआरएसले पुलिस चौकीहरूमा एफआइआर (प्राथमिकी) पनि दर्ता गरिसकेको जानकारी गराउँदै अबउसो भक्तकुमार राईलाई सिक्किम प्रवेश गर्न दिन नहुने एकेआरएसले अडान लिएको पनि एमबी राईले अवगत गराए।
‘विश्वमा राई जातिको भाषा, संस्कार र संस्कृति बचाईराखौं’ माथि अखिल किरात राई संघले आज राजधानी गान्तोक डीपीएचस्थित जनता भवनको सभाकक्षमा राज्यस्तरीय सम्मेलन आयोजना गर्यो। एकेआरएसका सल्लाहकार एवं दुग्ध उत्पादन संघका अध्यक्ष एमबी राईको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा हेभन्ली पाथ सङ्गठनका राष्ट्रियस्तरीय अध्यक्ष आरबी राई, एकेआरएसका अध्यक्ष चन्द्र खालिङ, सल्लाहकार आरएन राई, पश्चिम जिल्लाका अध्यक्ष विष्णु चामलिङ, पूर्व, पश्चिम, उत्तर र दक्षिण जिल्लाबाट प्रतिनिगण र अन्यको उपस्थिति रहेको थियो।
सम्मेलनको अवसरमा हेभन्ली पाथ सङ्गठनका अध्यक्ष आरबी राईले सङ्गठनमा 1999 देखि 2016 सम्म संलग्न रहेर काम गरेको जानकारी गराउँदै हेभेन्ली पाथ सङ्गठनमा बसेर राई जातिको भाषा, संस्कृतिको विकास नहुने थाहा पाएर आफूले सङ्गठन त्यागेको बताए। उनले आजदेखि अखिल किरात राई संघमा आफू बिनास्वार्थ सामेल भएको सबैसमक्ष बताए। हेभन्ली पाथ सङ्गठनको राष्ट्रस्तरीय पदबाट आरबी राईले आज राजीनामा दिए।
यसरी नै पश्चिम सिक्किमका दिनेश राईले जातिको पहिचान र चिनारीलाई सदैव बचाईराख्न हेभन्ली पाथ सङ्गठनलाई अघिबाटै त्यागिसकेको अवगत गराए।
यस्तै प्रकारले बीबी राईले हेभेन्ली पाथ सङ्गठनले राईको कुल(चुल्हा) हटाउने हुँदा सङ्गठन छोडेको बताए। जीबी राईले राई जातिको भाषा-संस्कृतिको संरक्षण र विकासमा हेभन्ली पाथले काम गर्छ भन्ने सोचेर सङ्गठनलाई सहयोग गर्दै आएको तर हेभन्ली पाथले राई जातिको हितमा काम नगरेको बुझेर आफूले सङ्गठनबाट अलग रहने निर्णय लिएको बताए। उनले आफ्नो नामलाई समेत जीबी एञ्जल बनाइदिएको पनि बताए। यस्तै प्रकारले सम्मेलनमा जङ्मो शेर्पा (राई), पीबी राई र अन्यले हेभेन्ली पाथ सङ्गठन त्यागेको कारण र विचारहरू राखे।
एकेआरएसका सल्लाहकार आरएन राईले सभामा स्वागत भाषण राख्दै राई जातिले आफ्नो भाषा, संस्कृतिको पहिचान र अस्तित्वमाथि गहन चिन्तन र अवलोकन गर्नुपर्ने बताए। राई भाषा-संस्कृतिको पहिचानको अवस्था र स्थिति विषयमा चिन्तन गर्न यो सम्मेलनको औचित्य रहेको उनले स्पष्ट पारे। सल्लाहकार राईले यो हेभन्ली पाथ सङ्गठनले सिधा-साधा राईलाई धर्म परिवर्तन गराउने काममा जोर दिइरहेको बताए। ‘निस्वी’ भन्ने अर्थ न बर्थको किताब निकालेर राई जातिलाई अतिक्रमण गरिरहेको पनि सल्लाहकार राइले आरोप लगाएका छन्। एकेआरएस राई जातिको मात्र होइन सम्पूर्ण सिक्कमे जात-जातिको संरक्षण र विकासको पक्षमा रहेको उनले थप बताए।
सम्मेलनमा हेभन्ली पाथ सङ्गठन त्यागेर एकेआरएसमा सामेल हुनेहरूलाई खदा लगाएर स्वागत जनाइयो। सम्मेलनको सञ्चालन एकेआरएसका अध्यक्ष चन्द्र खालिङले गरेका थिए।
Category: Religion-Faith विविध

0 comments