भानुजयन्तीले हाम्रो सांस्कृतिक महत्वको पहिचान गराउँदछः मन्त्री तुलसीदेवी राई

sikkimdainik | Saturday, June 25, 2016 | 0 comments

202 औं भानुजयन्ती समारोहलाई लिएर महत्वपूर्ण सभा

गान्तोकः ॑भानुजयन्ती हामी सबैको चाड हो र यसले हाम्रो सांस्कृतिक महत्वको पहिचान गराउँदछ। यसलाई हामीले पर्वको रूपमा मनाउने गरेका छौं, जसबाट हामीले हाम्रा सन्ततीलाई हाम्रो भाषा-साहित्य, संस्कृतिप्रति आकर्षण गर्न गराउन सक्छौं।॑ उक्त मन्तव्य 202 औं भानुजयन्ती समारोह समितिकी अध्यक्ष एवं मन्त्री तुलसीदेवी राईले व्यक्त गरेकी हुन्। उनी आज विकास क्षेत्रस्थित नेपाली साहित्य परिषद् भवनमा सम्पन्न  202 औं भानुजयन्ती समारोह समितिको सभालाई सम्बोधन गर्दै थिइन्।

समारोह समितिको अध्यक्ष श्रीमती राईले भानुजयन्तीको आफ्नै महत्व र विशेषता रहेको उल्लेख गर्दै भनिन्, यसलाई सफल बनाउन सबैलाई अपील गरेकी छन्।  यो हाम्रो साझा पर्व हो र यसलाई सबैले मिलेर सफल बनाउनुपर्छ। सिक्किमको भानुजयन्तीको आफ्नै दीर्घ परम्परा छ, यस परम्परालाई निरन्तरता दिँदै हामीले समाजका सबै तप्काका मानिसहरूलाई भानुजयन्तीसित जोड्नुपर्दछ भनिन्। भानुजयन्तीलाई आकर्षक एवं ज्ञानवर्द्धक बनाउका लागि सबैले आज कै दिन देखि जुटेर कार्य गर्नुपर्ने उनले आह्वान गरिन्।

स्मरण रहोस्, नेपाली साहित्य परिषद्, सिक्किमद्वारा गठन गरिने भानुजयन्ती समारोह समितिहरूमा मन्त्री तुलसीदेवी राई पहिलो महिला अध्यक्ष हुन्। 

यसभन्दा अघि आजसम्म भएको कार्यको विवरण समितिका संयोजकहरूले राखेपछि लामो छलफल पनि सो दिनको कार्यक्रमको रूपरेखा तय गरियो। जस अन्तर्गत 9 जुलाईको दिन अन्तरविद्यालय र खुल्ला रामायण पाठ प्रतियोगीता, 10 जुलाईको दिन  अन्तरविद्यालय र खुल्ला कविता पाठ प्रतियोगीता अनि 11 जुलाईको दिन लोकरामायण पाठ एवं नेपाली समाजमाथि भानुभक्तीय रामायणको प्रभावमाथि संगोष्ठीको आयोजन हुने। संगोष्ठीमा सिक्किम विश्वविद्यालयकी सह प्राध्यापक डा. पुष्प शर्मा, नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रूद्र पौड्याल अनि साहित्यकार शंकरदेव ढकालले कार्यपत्र प्रस्तुत गर्नेछन्। 

13 जुलाईको दिन भानुजयन्तीको मूल कार्यक्रम तीनवटा चरणमा सम्पन्न गर्ने निर्णय भयो। पहिलो चरणको कार्यक्रममा बिहान भानु उद्यान भानु सालिकमा माल्यार्पण पछि शोभा यात्रा हुनेछ। जसमा विभिन्न संघ-संस्थाहरूसितै स्कूलका विद्यार्थीहरू, भाषा-साहित्य प्रेमी मानिसहरूले भाग लिनेछन्। दोस्रो चरणको कार्यक्रम दिउसो मनन केन्द्रमा सम्पन्न हुने छ जसमा भानु पुरस्कार, श्रीसम्मानसहित अन्य साहित्यिक, सांस्कृतिक एवं प्रतियोगितात्मक कार्यक्रम हुने तथा बेलुकी मनन केन्द्रमा सिक्किम कलाकार संघद्वारा लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जारी एक विज्ञप्तिमा जनाइएको छ।  

Category:


0 comments

Check This too

loading...

Featured