अर्न्तराष्ट्रिय योग दिवस पालनलाई लिएर तयारी तीव्र
गान्तोक| आगामी २१ जून अर्न्तराष्ट्रिय योग दिवस पालनलाई लिएर राज्यभरि नै तीव्र रूपमा तयारी चलिरहेको छ| योग दिवसको अवसरमा सिक्किम सरकारसहित राज्यका विभिन्न संघ-संस्थाहरूले आ-आफ्नो स्तरमा कार्यक्रम आयोजना गर्ने भएको छ|
अर्न्तराष्ट्रिय योग दिवसको दिन राज्य सरकारले यहॉंको मनन केन्द्रमा एउटा कार्यक्रम आयोजन गर्ने जानकारी राज्यका मुख्यमन्त्री पवन चामलिङले दिल्ली भ्रमणबाट फर्किएपछि रम्फूमा आयोजित स्वागत कार्यक्रममा दिएका छन्| यसरी नै हेल्दी सेल्फ सिक्किमले यहॉंको एमजी मार्गमा बिहान योग दिवस पालन गर्ने भएको छ जसको निम्ति यहॉं तयार चलिरहेको छ|
यहॉंको पाल्जोर स्टेडियममा पनि राज्य स्तरीय अर्न्तराष्ट्रिय योग दिवस पालनलाई लिएर चलिरहेको छ| पाल्जोर स्टेडियममा विभिन्न संघ-संस्थाका सदस्यहरू, विभिन्न स्कूलका विद्यार्थीहरू, विभिन्न रक्षा बलका कर्मीहरू, आम नागरिक आदिले संयुक्त रूपमा भाग लिने बताइएको छ| यसै क्रममा संगीत एवं नृत्य अनुभागले नाम्चीमा अर्न्तराष्ट्रिय योग दिवस पालन गर्ने भएको छ|
यस अवसरमा संगीत एवं नृत्य अनुभागका कलाकारहरूले नाम्चीमा योग प्रदर्शन गर्ने जानकारी पीआइबीले दिएको छ| कलाकारहरूले योग प्रदर्शनबाहेक विभिन्न सांस्कृतिक प्रस्तुति पनि दिनेछन्| यसमा भारत नाट्यम र विभिन्न राज्यको लोकनृत्य पनि सामेल हुनेछ| दक्षिण जिल्लका जिल्लापालको मार्गदर्शनमा २१ जूनको दिन यो प्रस्तुतिमा कलाकारहरूले भाग लिनेछन्| यस दिन संगीत एवं नृत्य अनुभागका धेरै संख्यामा कलाकारहरूले भागलिने छन्|
अर्न्तराष्ट्रिय योग दिवस गत वर्षदेखि पालन शुरू भएको हो| युनाइटेड नेशन्स जेनरल एसेम्ब्लीले ११ दिसम्बर, २०१४ को दिन अर्न्तराष्ट्रिय योग दिवस घोषणा गरेको हो| भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो युएन सम्बोधनको क्रममा २१ जूनको दिन अर्न्तराष्ट्रिय योग दिवस पालन गर्नुपर्ने सुझाउ राखेका थिए|
उत्तरी गोलार्धमा २१ जून वर्षको सबैभन्दा लामो दिन पर्ने तथा विश्वका विभिन्न ठाउँहरूमा उक्त दिनको विशेष महत्व रहेको हुनाले २१ जूनलाई योग दिवसको रूपमा पालन गर्नुपर्ने मोदीले सुझाउ राखेका हुन्|
Category: Health Related News others Social Yoga
0 comments