विभिन्न जानकारीमूलक कार्यक्रमहरूका साथ रिनाकमा विश्व बाल श्रम विरोध दिवस पालन
गाम्तोक: पूर्व सिक्किमको रिनाक बजारमा १२ जून आइतवार अपरान्ह चाइल्डलाइन उप-केन्द्र रंगेली (योडेस) को पहलमा विश्व बाल श्रम विरोध दिवस पालन गरियो|
रिनाक जिल्ला पञ्चायत सदस्य केके प्रधानको मुख्य आतिथ्यमा उक्त आयोजित कार्यक्रममा रिनाक ग्राम पञ्चायत, विभागीय स्रोत वक्ता, द टेन एनजीओ, नारी कल्याण समिति रिनाक बजार सहित कञ्चनजंघा एसएचजी सुदुङलाखाका मधू शर्मा अनि अन्य एसएचजीका प्रतिनिधिगण, रिनाक क्षेत्रका एकीकृत सामाजिक कार्यकर्ता (आशा), सरोकारवाला, स्थानीय व्यापारी समुदायको सहभागिता रहेको थियो|
कार्यक्रमको प्रारम्भमा चाइल्ड लाइन रंगेलीका टीम सदस्य नरपति दवाड़ीले उद्घोषणासहित कार्यक्रमको विषयमाथि प्रकाश पार्दै १८ वर्षमुनिका नानीहरुलाई घरमा अथवा कुनै निकायामा मजदूरको रुपमा राख्न नपाइने कड़ा निर्देशन दिए| योडेसका लेखापाल सुधा राईले स्वागत सम्बोधन गरेपछि समन्वयक प्रणिता छेत्रीले चाइल्डलाइन सर्भिसको गतिविधिबारे बताउँदै बाल श्रम ऐनबारे विस्तृत रुपमा जानकारी दिइन्| उनले बाल-बालिकाहरूको संरक्षणहेतु अन्याय, यौन शोषणमा परेका, हराएको-पाएको बाल-बालिकालाई चाइल्ड लाइनद्वारा आश्रय, सहयोग आदि प्रदान गरिने प्रावधान रहेको बताइन्|
स्रोत वक्ताको रुपमा सामाजिक कल्याण विभागका अमृत शर्माले एकीकृत शिशु सुरक्षा योजना (आईसीपीएस) सिक्किममा २०१३ देखि लागू भएको साथै उनले पोक्सो ऐनबारे पनि अवगत गराए| विशेष शर्माले हामी सबै एक भएर काम गरौं भन्दै नानीहरुलाई अभिभावकद्वारा पूर्ण हेरचाह गरिनुपर्ने साथै सचेत हुनुपर्छ भन्ने सुझाउ राखे|
कार्यक्रममा ब्रह्मकुमारी आध्यात्मिक केन्द्र रिनाक शाखाकी प्रभारी रुपमणि बहेनले नानीहरुको हरेक व्यवहारमा सदा अभिभावकको साथ रहँनु पर्नेमा जोड़ दिँदै आधुनिक मात्र नभएर आध्यात्मिक पनि हुन आवश्यक रहेको बताइन्| शिक्षाको साथ-साथमा ज्ञान पनि चाहिने कुरालाई पुष्टि गर्दै उनले शिक्षाले कमाउँन सिकाउँछ भने ज्ञानले आफूलाई उपयोग गर्न सिकाउँछ भनिन्|
यस्तै प्रकारले रिनाक पुलिस थानाका निरिक्षक जिग्मी भोटियाले मातापिताले नानीहरुलाई पोक्सो जस्तो कानूनको जानकारी सहित नशालू पदार्थमाथि जागरुक गराउँन सिकाउनपर्छ भन्दै बाल-बालिकासंग सम्बन्धित कानूनको बारेमा पनि बताएका थिए|
खुल्ला बहसको क्रममा द टेन एनजीओका प्रतिनिधि उज्जवल प्रधान र रबिन प्रधानले बाल श्रमबारे स्वयं सचेत हुनपर्ने अनि यसको रोकथाममाथि हामीले मिलेर पहल गर्नुपर्ने साथै प्रत्यक्ष रुपमा बाल श्रमलाई देखिएता पनि ठोस पहल गर्न नसकिएको प्रतिक्रिया राखे|
मुख्य अतिथिको रुपमा बोल्दै जिल्ला पञ्चायत केके प्रधानले यो कार्यक्रम सबैको निम्ति उपयोगी र लाभदायक रहेको विचार राख्दै उनले सर्व शिक्षा अभियानअन्तर्गत १४ वर्षमुनिका सबै नानीहरुलाई अनिवार्य रुपमा स्कूल पठाउनैपर्ने शिक्षा निति रहेको अनि हामीले बाल मजदूरको सदा विरोध गर्नपर्नु विषयमा अपील गरे| कार्यक्रममा शे नो टू चाइल्ड लेबरको ब्यानरमा हस्ताक्षर अभियान पनि राखिएको थियो भने टिम सदस्य अनिता शर्माले कृतज्ञता ज्ञापन गरेका थिइन्|
सोही क्रममा शनिबार रम्फू निम्न माध्यमिक पाठशालामा पनि सो दिवसलाई पालन गरिन्दै एक कार्यक्रम चाइल्डलाइन उप-केन्द्र रम्फूले आयोजना गरेको थियो, जसमा स्कूलका प्रधानअध्यापक, शिक्षक-शिक्षिका, एसएमसी, कक्षा ६ देखि ८ सम्मका विद्यार्थी, स्रोत वक्ताको उपस्थितिमाझ केन्द्रकी समन्वयक डिम्पल सुब्बाले चाइल्डलाइन सर्भिसको गतिविधिबारे प्रकाश पारिन् भने रम्फू थानाका एसएचओ विकास तिवारी, पत्रकार सञ्जय अग्रवाललगायत अन्यले सम्बोधन गरेका थिए भनी चाइल्डलाइनका कार्यकर्ता एनपी दवाड़ीले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन्|
Category: Social
0 comments