सुम्बुकमा स्वास्थ्य सचेतना एवं परामर्श कार्यक्रम सम्पन्न

Unknown | Friday, June 10, 2016 | 0 comments

गान्तोकः दक्षिण सिक्किमको सुम्बुकमा एक गैर सरकारी संस्था कल्याणज्योति परिवारको आयोजनामा  ८ जुनको दिन स्वास्थ्य सचेतना एवं परामर्श कार्यक्रम भव्यरूपमा सम्पन्न भयो| कार्यक्रममा स्वास्थ्य रक्षा, मानव सेवा र परिवार कल्याण विभाग अन्तर्गत एनएचएम-का मिशन डाइरेक्टर डा. विमल कुमार राई मुख्य अतिथीका रूपमा उपस्थि थिए|

नाम्ची जिल्ला अस्पतालकी उपनिर्देशिका श्रीमती चित्ररेखा प्रधानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेपछि विभिन्न विषयविद् तथा स्रोत वक्ताको रूपमा उपस्थित डाक्टर एवं अन्यले विभिन्न विषयमाथि चर्चा गरे| यस क्रममा मनोरोग विशेषज्ञ डा. सीएल प्रधानले आत्महत्या, मानसिक स्वास्थ्य तथा ड्रग्स सेवन गर्दा हुने हानिहरूमाथि गहन रूपमा चर्चा गरे भने नाम्ची अस्पतालका मुख्य चिकित्सा अधिकारी डा. डीएस केरोङ्गीले किशोर-किशोरीका स्वास्थ्य समस्याबारे वक्तव्य राखे|

नाम्ची अस्पतालकै नोडल अफिसर डा. उर्गेन शेर्पाले स्वास्थ्य जीवन शैली र खान पानमाथि उपस्थित जनसाधारण र विद्यार्थी वर्गलाई बताए भने चलचित्र निर्देशक चुनिलाल घिमिरेले कला संस्कृति र स्वास्थ्य सम्बन्धी रोचक तथ्यहरू प्रस्तुत गरे| उनले मुख्यमन्त्री पवन चामलिङको ‘रोगमुक्त सिक्किम’ बारे बोल्दै यसलाई साकार पार्न साहित्यकार, कलाकार, बुद्धीजीवि तथा नागरिक सहभागिता हुनु पर्ने कुरामा जोड़ दिए| कार्यक्रमलाई सुम्बुक उच्चत्तर माध्यमिक विद्यालयका प्राचार्य जी पी शर्मा, सुम्बुक-कार्तिके ग्राम पञ्चायत अध्यक्ष श्रीमती राधा शर्मा तथा कल्याणज्योति संघका प्रमुख सल्लाह विक्रम गौतमले पनि सम्बोधन गरेका थिए|

आफ्नो मुख्य आतिथ्य सम्बोधनमा डा. विमल कुमार राईले सुम्बुकलाई स्वास्थ्यको क्षेत्रमा एउटा आदर्श गावँ बनाउने आफूले लक्ष्य राखेको र यसमाथि धेरै अघिदेखि कार्य गरिरहेको बताउँदै उनले हाम्रो समाजलाई ज्ञान आधिर समाज बनाउनु पर्छ भनी बताए| कुनै पनि अभियानलाई सफल पार्न सबैको सहभागिता हुनु पर्ने कुरामा जोड़ दिँदै उनले सिक्किममा छोरीहरूको जन्मदर घट्दै गरेकोमा चिन्ता व्यक्त गरे| यस विषयमा सरकार र विभाग गम्भीर रहेको बताए|

यस अवसरमा स्थानीय कलाकार र आशा कर्मीहरूले स्वास्थ्यमाथि लघु नाटक पनि प्रस्तुत गरेका भने विद्यार्थी र स्रोतवक्ता बीच अन्तर्क्रियात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो| कार्यक्रमको अन्तमा सहशिक्षक टी एम राईले धन्यवाद ज्ञापन गरेका थिए|

Category:


0 comments

Check This too

loading...

Featured