रुम्तेकमा सृजनात्मक वैचारिक मञ्चको एघारौं भेटघाट कार्यक्रम सम्पन्न
गान्तोक, 26 दिसम्बरः सृजनात्मक वैचारिक मञ्चको एघारौं भेटघाट कार्यक्रम राउते रुम्तेकमा स्थानीय ऋषी प्रसाद नेउपानेको घर प्राङ्गनमा तारिक 25.12.2016 आइतवारको दिन सम्पन्न गरियो। यस कार्यक्रममा हरिकुमार निरौला सभा अध्यक्ष रहेका थिए भने प. ठाकुर प्रसाद अधिकारी, कुबेर भट्टराई साथै श्रीमती सुमित्रा नेउपानेले विशिष्ट अतिथिको ओहोदामा आसन ग्रहण गरेका थिए।
शिवप्रसाद नेउपानेद्वारा सञ्चालित यस कार्यक्रममा ऋषीप्रसाद नेउपानेद्वारा सभा अध्यक्ष र अतिथिगणलाई खादा अर्पण पश्चात् उनैले स्वागत भाषण राखेका थिए। त्यसपछि मञ्चका कार्यकारिणी अध्यक्ष हरिभक्त शर्माद्वारा विगत महीनामा भएको कार्यक्रम बारे जानकारी दिँदै यस मञ्चको शुरुआत र निरन्तरताबारे सभासम्मुख केही जानकारी पनि दिए।
त्यसपछि मुक्य कार्यक्रमको थालनीमा पर्शुराम नेउपानेद्वारा 27 वर्ष अगाड़ी राउते रूम्तेकमा भएको विस्फोट काण्डमा परी ज्यान गुमाउनेहरूको मार्मिक कथा कविताको माध्यमद्वारा खूबै रोचक ढङ्गमा प्रस्तुत गरेका थिए। त्यसपछि शिवप्रसाद नेउपानेले गितीलयमा ‘बुझ्नै सकिन मैले’ शिर्षकमा एउटा मिठो कविता सुनाए। यसै गरी श्रीमती लीलावती शर्माले ‘शम्भु कृपा’ शिर्षकमा कविता र एउटा छोटो सवाई पनि सुनाइन्। प. ठाकुर प्रसाद अधिकारीले हाम्रा महान् कविहरूद्वारा रचित कविता माथि केही चिन्तन प्रस्तुत गरेका थिए भने कुबेर भट्टराईज्यूले ‘नयाँ वर्ष यसरी आवोस्’ शिर्षकमा मिठो कविता साथै केही गजल पनि सुनाए। श्रीमती शारदा नेउपानेले ‘युवाप्रति मेरो चुड़के आह्वान’ शिर्षकमा एउटा शिक्षाप्रद कविता सुनाइन्, हरिभक्त शर्माज्यूले ‘मकर संक्रान्ति’ शिर्षकमा एउटा लेख सुनाए, श्रीमती सुमित्रा नेउपानेले ‘मैतालु लिन जाने’ विषयमा एउटा छोटो सवाई गाएर सुनाईन् भने श्रीमती निर्मला शर्माले ‘दृढ़ निश्चय’ शिर्षकमा एउटा मर्मस्पर्शी कविता सुनाइन्। गणेश नेउपानेले मातृभाषा विषय एउटा लघु लोक कथा सुनाए।
प्रेम नेउपानेद्वारा बिमारीलाई स्ट्रेचर नभएको ठाउँमा कसरी पलङ्ग च्यादरमा बोकेर अस्पताल लैजाने र यदि स्ट्रेचर भए शिरियस विमारीलाई कसरी स्ट्रेचरमा हाल्ने र बोकेर लैजाने त्यसविषय ड्मोस्ट्रीेशन गरी जानकारी दिँदै एउटो छोटो कविता पनि सुनाए। श्री दुर्गा प्रसाद नेपालले केही हँस्यौलीहरू प्रस्तुत गरेका थिए।
सभा अध्यक्षको सम्बोधन गर्ने क्रममा सभा अध्यक्षले ‘क्रिसमस डे’ अथवा बड़ा दिन बारे केही महत्वपूर्ण जानकारी दिँदै हामी पढ़न त पढ़छौं तर त्यसको गहिराईप्रति हामी त्यति चासो राख्दैनौं भन्ने कुरामाथि प्रकाश पार्दै सृजनात्मक वैचारिक मञ्चले राम्रो काम गर्दै अघी बड़दै गएकोमा खुशी व्यक्त गर्दै आफ्नो मनतब्य श्रोतावृन्दमा प्रस्तुत गरेका थिए।
उत्कृष्ट प्रस्तुती प्रस्तुत गरेकोमा कुबेर भट्टराई, श्रीमती निर्मला शर्मा र प्रेम नेउपानेलाई सभा अध्यक्षको बाहुलीबाट पुरस्कार पनि प्रदान गरिएको थियो। त्यसपछि सी. बी. खड़काद्वारा धन्यवाद ज्ञापन गरिएको थियो।
Category: Art-literature
0 comments