गीति एल्बम ‘हाँसु कसरी’ को विमोचन 11 दिसम्बरमा हुने

यस गीति एल्बममा डुवर्सका स्थापित कविद्वय थापा र गजमेरका गीतहरूलाई चर्चित गायकहरू थुप्देन भोटिया, भावना थापा, प्रणय गुरुङ, अजय थापा र स्नेहाश्री थापाले गाएका छन्। आगामी आइतवारको विमोचन कार्यक्रमलाई लिएर तयारी युद्धस्तरमा भइरहेको कार्यक्रम आयोजक सिलगढ़ी पारिजात संघका प्रमुख सल्लाहकार अभय खालिङले जनाएका छन्। उनले दिएको जानकारीअनुसार, वरिष्ठ संगीतकार मणिकमल छेत्री मुख्य अतिथि रहनेछन् भने कार्यक्रमको अध्यक्षता मूर्धन्य साहित्यकार नरबहादुर दाहालले गर्नेछन्। यस अवसरमा अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहनेछ।
डुवर्सको साहित्यिक-सांगीतिक तथा सामाजिक फाँटमा बितेको अढ़ाई दशकदेखि सक्रिय रहँदै आएका वेगवसन्त थापाले यसअघि 2004 मा एउटा बाल कवितासङ्ग्रह प्रकाशित गरिसकेका छन्। ‘बालगीत’ सङ्ग्रह पनि भन्न मिल्ने यो कृतिपछि उनको ‘म टिस्टा बगिरहेछु’ (2007) कवितासङ्ग्रह प्रकाशित छ। यस्तै गणेश गजमेरको एउटा कवितासङ्ग्रह ‘गाउँलाई भनेर’ (2014) प्रकाशित छ। यी दुवै साहित्य-सर्जकहरूको गीत-संगीतप्रतिको रुचि उनीहरूका सङ्ग्रहमा पनि देख्न पाइन्छ। दुवै युवा कविको गीति सँगालो निकाल्ने यो प्रयासलाई डुवर्सका विभिन्न साहित्यिक-सामाजिक संघ-संस्था र बुद्धिजीवीहरूले सराहना गरेका छन्। ‘‘चियाबारी र हाम्रो जातीय जीवनमा आधारित यी गीतहरू धेरै मर्मस्पर्शी छन्। बजारू प्रकारका गीतहरूले ढोल पिट्दै गएको यो समयमा यति संवेदनशील गीतहरू तयार गर्नु चुनौतीपूर्ण कुरा हो।
डुवर्सबाट एक गीतकारका रूपमा वेगवसन्त थापाबाट नयाँ पुस्तालाई मार्गदर्शन हुनेछ भन्ने मेरो विश्वास छ’’,डुवर्सका अग्रणी समाजसचेतक सुखमन मोक्तानले भने। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान पनि डुवर्सेली युवाहरूको यो कार्यबाट हर्षित देखिन्छ। ‘‘वेगवसन्त थापा र गणेश गजमेरले हाम्रो चियाबारी र जातीय जनजीवनको संवेदनशीलतालाई नजिकबाट छामेका छन्। हामी उनीहरूबाट उत्कृष्ट सिर्जना पाउने अपेक्षामा छौं’’,प्रतिष्ठानका अध्यक्ष जेबी छेत्रीले मन्तव्य गरे। डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव सितम मोक्तानले भने,‘‘जुनसुकै रचना किन नहोस् त्यसमा हाम्रो समाजको अनुहार परेको हुनुपर्छ। हाम्रो समाजको प्रतिविम्ब मात्र होइन, चाहनासमेत विम्बित भए त्यसले निश्चयै सकारात्मक परिणाम ल्याउँछ। हामी लोकार्पित हुनलागेको सङ्ग्रहबाट यस्तै अपेक्षा राख्दछौं।’’
यसैगरी, डुवर्सका वरिष्ठ सांस्कृतिक कर्मी ललित न्यासुरले यसलाई ‘धेरै राम्रो काम’-को रूपमा परिभाषित गर्दै भने,‘‘हाम्रा प्रतिभाहरू धेरै छन्, तर हामीले उनीहरूलाई आवश्यक सहयोग गरेर अघि बढ़ाउन सकेका छैनौं। यो कमजोरीलाई महसुस गरेर अग्रज पुस्ता अघि आए डुवर्सबाट युवा प्रतिभाहरूको ठूलो हाँच प्रकाशमान हुने सम्भावना व्यापक छ’’,उनको अपेक्षा पनि अरू जस्तै विश्वासिलो थियो। डुवर्सका वरिष्ठ संगीतकार कुमार सुन्दास, वरिष्ठ साहित्यकार डा. जीवन राणाले पनि दुवै गीतकारहरूबाट उत्कृष्ट सिर्जनाको अपेक्षा गरिएको बताए।
कार्यक्रमलाई लिएर तयारी जोड़तोड़ले चलिरहेको सिलगढ़ी पारिजात संघका अध्यक्ष बिर्जु सुब्बाले जनाएका छन्। आयोजकवर्गले दिएको जानकारीअनुसार, कार्यक्रममा बुद्धिजीवी सुखमन मोक्तान, समालोचक तथा पत्रकार रूपेश शर्मा, चर्चित चित्रकार अमीर सुन्दास आदिले पनि गीति सँगालोबारे मन्तव्य राख्नेछन्। यसैगरी, एल्बमका गायकहरूसहित कैलाश राईले बाँसुरीमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रमलाई युवा साहित्यकार निरज थापाले सञ्चालन गर्नेछन्। यस अवसरमा डुवर्स, सिलगढ़ी, कालेबुङ, खरसाङ र दार्जीलिङका साहित्यकार तथा संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहने आयोजक वर्गको जानकारी गराएको छ।
Category: Art-literature
0 comments