सामान्य विवादको कारण पिताले गरे आफ्नै छोराको हत्या
कालेबुङ, 10 दिसम्बरः हिजो शुक्रवार राति कालेबुङ शहरदेखि लगभग 40 किलो मिटर टाडो अवस्थित गित्डाब्लिङ ग्राम पञ्चायत अन्तर्गत पकाङ बस्तीमा एक 56 वर्षीय पिताले आफ्नै 31 वर्षीय छोराको हत्या गरेको घट्नाले प्रकाशमा आएको छ।
प्राप्त जानकारी अनुसार पिता सुकबीर राई अनि उनका एक मात्र छोरा प्रकाश राईबीच बारम्बार घरमा वाद-विवाद हुने गर्दथ्यो भने यस्तै एक विवादको क्राममा पिताले छोराको हत्या गरे। पानीको पाइपको विषयलाई लिएर भएको विवाद क्रममा आवेशमा आएका पिता सुकबीर राईले छोरालाई दाउराले हिर्काए, जो मृतक छोराको टाउकोमा लागेपछि घाइते प्रकाश राईलाई पिता लगायत परिवारपक्षले बुधबारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका निम्ति पुर्याए तर उनको अवस्था गम्भीर रहेको कारण त्यहाँबाट उनलाई कालेबुङ महकुमा अस्पताल रेफर गरिएको थियो। यसबीच मृतक राईको कालेबुङ महकुमा अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।
यस घटनापछि आज आरोपी पितालाई उनको घरबाट पक्राउ गरेको छ भने उनलाई भोलि न्यायलयमा पेश गरिने थाहा लागेको छ।
Category: Crime-controversy-allegation
0 comments