मुख्यमन्त्री चामलिङको संग्लो विचारका कारण आज समस्त श्रमिकवर्गको कदर भएको छः विधायक विक्रम प्रधान

Unknown | Saturday, June 04, 2016 | 0 comments

गान्तोक, ४ जून: पूर्व सिक्किमको रंगेली सामुदायिक भवनमा सिक्किम सरकारका मुख्य सचेतक तथा क्षेत्रका विधायक श्री विक्रम प्रधानको मुख्य आतिथ्यमा सिक्किम बिल्डिङ तथा अन्य निर्माण कामदार कल्याण बोर्ड (बीओसीडब्ल्यू) सिक्किम सरकारद्वारा आयोजित एक कार्यक्रमको अवसरमा पञ्जीकृत श्रमिकहरूलाई विभिन्न सामग्रीहरू वितरण गरियो|

यस कार्यक्रममा पञ्ञ्चायत सभापति रंगेली दावा छिरिङ भोटिया, पञ्चायत नुरी सेर्पा, एसडीएफ पार्टीका पदाधिकारीहरुमा तुलमान राई, गणेश शर्मा, वाङ्दी भोटिया, श्यामकुमार प्रधान, विष्णुमाया बराईली, राजु जैरु साथै अन्य, संयुक्त श्रम आयुक्त (एचक्यू) डीएस कुनवर, निरिक्षकद्वय, महकुमा अधिकारी रंगेली किशोर प्रधान, बीडीओ रिगु, १३० आरसीसी (बीआरओ ग्रेफ) का अधिकारी, बीओसीडब्ल्यूका बोर्ड सदस्य तथा अखिल सिक्किम प्रजातान्त्रिक श्रमिक प्रकोष्ठ केन्द्रिय कमिटीका महासचिव हरिप्रसाद छेत्रीसहित इन्द्रेणी श्रमिक समाजका प्रमुख तथा सरकारी ठेकदार जीएल भोटिया अनि अन्य कार्यकारिणी, फापरखेती लाभादेखि कुपूक-नाथाङसम्मका इन्द्रेणी समाजका सदस्य तथा बीआरओ श्रमिक अनि विभिन्न औद्योगिक एकाईका सुरक्षाकर्मीहरुको व्यापक मात्रामा जमघट रहेको सो कार्यक्रमको सञ्चालन श्रम निरिक्षक (पूर्व) रजनी राईद्वारा गरियो भने श्रम निरिक्षक (पूर्व) श्‍वर्णास्मृति प्रधानद्वारा स्वागत सम्बोधन गरिएको थियो|

मुख्य अतिथिको रुपमा बोल्दै विधायक विक्रम प्रधानले आफूलाई क्षेत्रको श्रमिकहरुसँग भेटघाट गर्ने एक सपना रहेको, जो यस कार्यक्रममा सार्थक भएको बताए| उनले एसडीएफ पार्टीको सरकारमा मजदूरहरूलाई सम्मानको नजरले हेर्ने गरिएको, जो १९९४ भन्दा अघिका सरकारहरूमा नरहेको दावी गरे| एसडीएफ पार्टीको तथा मुख्यमन्त्री पवन चामलिङको विचारले आज सिक्किमका समस्त श्रमिकको कदर भएको मन्तव्य राख्दै आफू सदा श्रमिक अनि इन्द्रेणी समाजको साथ रहेको अनि सबैसँग संग्लो विचार राखेर सदैव साथ दिने अनि आफ्नो ढोका सदैव खुल्ला रहेको विचार व्यक्त गरे| उनले आज गोर्खा नामक संगठनले गाउँ-गाउँमा जनता जुझाउने, जात-जातमा विभाजन गर्ने कामको कड़ा शब्दमा विरोध गर्दै आम जनतालाई सचेत गराए| विशेष श्रमिकको हकहित अनि मागहरुमा सरकार बोर्ड सकारात्मक रहेको विधायक प्रधानले राखे|

सिक्किम बिल्डिङ तथा अन्य निर्माण कामदार कल्याण बोर्ड अन्तर्गत कर्मचारीको स्थायीकरण अनि सेवाको अवस्था अधिनियन, १९९६ को क्रियाकलाप तथा श्रमिक हक-अधिकारमाथि अवगत गराउँदै  संयुक्त श्रम आयुक्त डीएस कुनवरले श्रमिकको निम्ति सरकारद्वारा कार्यन्वयन गरिएको विभिन्न योजनाबारे समेट्दै निशुल्क स्वास्थ्य शिविर, श्रमिकका नानीहरुलाई उच्च शिक्षाको प्रावधान, जागरण कार्यक्रममाथि विशेष प्रकाश पारे|

उनले सिक्किममा ६ सेप्टेम्बर, २०१० देखि श्रम कानून लागू भएको समेत जानकारी दिँदै बिओसीडब्ल्यूद्वारा प्रदान गरिने विभिन्न श्रम सुविधा रहेको पनि बताए| श्रमिकलाई दुर्घटनाको बेला १ लाख, दाह संस्कारको निम्ति, विवाह तथा प्रसव भत्ता बोर्डले प्रदान गर्ने बताएका थिए| सोही प्रकारले बिओसीडब्ल्यू का बोर्ड सदस्य हरिप्रसाद छेत्रीले श्रम कल्याण बोर्डले श्रमिकको कल्याणार्थ काम गरिरहेको जनाउँदै बोर्डमा श्रमिकको पंजीकरण गरि नाम दर्ता गर्नु आवश्यक रहेको कुरामा जोड़ दिए साथै बोर्ड अनि सरकारमा श्रमिकको साथमा छ, सबै एक भएर हक र अधिकार लिनसक्नु पर्छ, छेत्रीले जोड़ दिएका थिए|

सरकारी ठेकदार तथा इन्द्रेणी समाजका अध्यक्ष जीएल भोटियाले विधायक विक्रम प्रधानद्वारा श्रमिकलाई धेरै लाभ अनि प्रोत्साहित गरेकोमा तथा यसप्रकारको महत्वपूर्ण सचेतना कार्यक्रम आयोजना गरिदिएकोमा बोर्ड अनि क्षेत्र विधायकप्रति आभार प्रकट गरे|  भोटियाले इन्द्रेणी श्रमिक समाजको तर्फबाट ग्रेफमा कार्यरत कामदारको निम्ति चोटपटक लाग्दा रु० ३००० र मृत्युमा रु० ७००० को दरले सहयोग राशि प्रदान गर्दै आएकोछ भन्दै श्रमिकको निम्ति परिचय कार्ड, श्रमिक दिवसमा विदा, कामको साइटमा प्रथम चिकित्सा सुविधा जस्ता गहन विषयमाथि ग्रेफ अनि बोर्डसमक्ष राखे|

अन्तरक्रियात्मकको क्रममा मजदूरको प्रतिनिधित्व गर्दै इन्द्रेणी समाजका आरीटार-सुदुङलाखा शाखा सभापति कमला मुखियाले ५० वर्ष काटेपछि दूधबाट झिंगा फ्यॉंकेझैं ग्रेफले श्रमिकलाई फ्यॉंक्ने दु:खेसो राख्दै फ्यॉंकेपनि केही राहत प्रदान गरिनुपर्ने माग राखिन्| उनले काममा १ दिन नजॉंदा २ दिनको पैसा काट्न नहुने, वेतन बढ़ाइदिनु पर्ने मागहरु राखिन् भने लिङ्ताम फदामचेन शाखा सभापित किपा सेर्पाले आफूले इमान्दारीपूर्वक श्रमिकको निम्ति काम गरेको कुरा राखे| उनले समाजभित्र परस्पर मेल कायम रहनुपर्नेमा पनि जोड़ दिए| पछिबाट संयुक्त श्रम आयुक्त डीएस कुनवरले मागहरुको समाधानार्थ बोर्ड कायम रहेको बताए|
कार्यक्रममा श्रमिक जागरणमाथि लघू चलचित्र पावर पोइन्टद्वारा प्रदर्शन गरियो भने विद्या भारती स्कूल रंगेली, रंगेली निम्न माध्यमिक स्कूल, डोल्पिन एकाडेमी तथा श्रमिक महिला टोलीले नृत्यहरु प्रस्तुत गरेका थिए|

कार्यक्रमको अन्त्यमा फापरखेती लाभा, दलेप पश्‍चिम बंगालदेखि कुपूक-नाथाङसम्मका श्रमिक लाभार्थीलाई श्रम बोर्ड तथा क्षेत्र विधायक विक्रम प्रधानको पहलमा एक-एक कम्बल सहुलियतको रुपा वितरण गरिएपछि श्रम निरिक्षक (प्रमुख कार्यालय) टाशी पिञ्चो मापेनले कृतज्ञता ज्ञापन गरेका थिए| 

Category:


0 comments

Check This too

loading...

Featured