‘12 घण्टा स्टेडियम च्यालेञ्ज अल्ट्रा म्यारथन’ मा दौड़्न म्यारथन म्यान अमर सुब्बा पूर्ण रूपमा तयार

Unknown | Tuesday, June 07, 2016 | 0 comments

गान्तोकः आगामी 19 जूनको दिन मुम्बईमा आयोजन भइरहेको ‘12 घण्टा स्टेडियम च्यालेञ्ज अल्ट्रा म्यारथन’ मा यसपल्ट पनि सिक्किमका म्यारथन म्यान अमर सुब्बाले  भाग लिने भएका छन्।

नागराज अडिगा र अनुभवी धावक सुनिल शेट्ठीको सक्रियतामा आयोजन भइरहेको उक्त प्रतियोगितामा देशभरिबाट 35 भन्दा अधिक अनुभवी धावकले भाग लिने जानकारी धावक अमर सुब्बाले यहाँ प्रेस क्लब अङ्ग् सिक्किममा एक पत्रकार सम्मेलनमा दिएका छन्।

अमर सुब्बाले 2014 मा बेङ्गलोरमा आयोजित 12 घण्टा स्टेडियम च्यालेञ्ज अल्ट्रा म्यारथनमा भाग लिएका थिए, जसमा तेस्रो स्थान प्राप्त गरेका थिए भऩे 2015 मा चोटका कारण उनले प्रतियोगितामा सहभागिता जनाउन सकेका थिएनन्।

धावक सुब्बाले यसपल्ट मुम्बईमा आयोजन भइरहेको उक्त प्रतियोगिताको निम्ति आफूले पूर्णतयारी गरिरहेको बताउँदै यस प्रतियोगिताको निम्ति उनी 16 जूनअघि नै प्रस्थान हुने जानकारी दिए। उनले मुम्बईको मौसमलाई ध्यानमा राखेर त्यही अनुरूप यहाँ आफूले तयारी गरिरहेको जनाए। उनले दिल्ली, महाराष्ट्र र उत्तर-प्रदेश जस्ता राज्यका धावकहरू आफ्नो निम्ति चुनौती रहेको बताए।

धावक सुब्बाले यस प्रतियोगितामा आफ्नो लक्ष्य भनेको शीर्ष दसमा स्थान हत्याउनु रहेको बताए। सुब्बाले सिक्किम राज्यमा पनि म्यारथन प्रतियोगिताहरू आयोजन हुन शुरू भएकोेमा आफ्नो खुशी व्यक्त गर्दै यस्ता प्रतियोगिताहरूको आयोजनाले युवा धावकहरूलाई यसप्रति आकर्षित तथा प्रोत्साहित गर्ने मन्तव्य व्यक्त गरे।

Category:


0 comments

Check This too

loading...

Featured