रूपेश शर्माकृत ‘सिर्जना र दृष्टि’-माथि काठमाडौंमा पुस्तक-चर्चा
गान्तोक, 24 फरवरीः डुवर्सका युवा समालोचक तथा ‘हिमाली बेला’दैनिकका सहयुक्त सम्पादक रूपेश शर्माको हालै प्रकाशित समालोचनात्मक ग्रन्थ ‘सिर्जना र दृष्टि’-माथि काठमाडौंमा पुस्तक चर्चा हुने भएको छ। शर्मा यतिबेला काठमाडौंको भ्रमणमा रहेका छन्। आगामी 27 फरवरीको दिन काठमाडौंको अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा कृति-चर्चा आयोजन गरिएको छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजन गरिने उक्त कार्यक्रममा नेपालका सुपरिचित समालोचक तथा सौन्दर्यशास्त्री निनु चापागाईं अनि ख्यातिप्राप्त समालोचकद्वय डा. ताराकान्त पाण्डेय र डा. अमर गिरीले मूलरूपमा ‘सिर्जना र दृष्टि’-माथि आफ्ना आलोचनापरक दृष्टि र विचार राख्ने इच्छुक प्रतिष्ठानले जनाएको छ।
“भारतीय नेपाली साहित्यबारे हामीले धेरथोर पढ्दै आएका छौं। तर यता र उताका साहित्य सर्जकहरूबीच छलफल, सिर्जनात्मक आदान-प्रदान तथा सहकार्यले भनेजस्तो व्यापकता पाउनसकेको छैन। पछिल्लोपटक कालेबुङकी कवि भीमा राई ‘तोलाछा’-लाई हामीले ‘इच्छुक प्रतिभा पुरस्कार’-द्वारा अलङ्कृत गरेका थियौं। यसपटक समालोचक रूपेश शर्माकृत नवीनतम कृति ‘सिर्जना र दृष्टि’-माथि अन्तरक्रियात्मक कार्यक्रम आयोजन गरेका छौं। हाम्रा यी पहलहरूले दुई देशका साहित्यकारहरूबीच सिर्जनात्मक तथा वैचारिक सहकार्यमा सहयोग पुग्ने अनि एकअर्कालाई बुझ्न मद्दत मिल्ने हाम्रो ठहर छ”,इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव हीरामणि दुखीले भने। उल्लेखनीय छ, गत वर्षको सेप्टेम्बर महिनामा कवि भीमा राई ‘तोलाछा’-लाई इच्छुक प्रतिष्ठानले प्रतिष्ठित ‘इच्छुक प्रतिभा पुरस्कार’-द्वारा अलङ्कृत गरेको थियो। आफ्नो पुस्तकमाथि काठमाडौंमा चर्चा हुने भएपछि शर्मा निकै उत्साहित देखिएका छन्।
काठमाडौंमा साहित्यकार, बुद्धिजीवी र पत्रकारहरूसँगको भेटघाटमा व्यस्त शर्माले भने,“मेरो निम्ति यो सुखद् अनुभूति हो। विज्ञ साहित्यिक हस्तीहरूबीच विशिष्ट साहित्यकारहरूद्वारा मेरो पुस्तकमाथि चर्चा हुनु एउटा रोमाञ्चकारी क्षण हो। आफूले धेरै अघिदेखि पढ्दै आएका समालोचकहरू आफ्नो पुस्तकमाथि कस्तो धारणा राख्छन् वा उनीहरूका प्रतिक्रिया कस्ता रहन्छन् भन्ने कौतुहलताले मलाई अहिलेदेखि नै रोमाञ्चित तुल्याएको छ।”
यसैबीच, शर्माले काठमाडौंमा धेरै विशिष्ट साहित्यकार, बुद्धिजीवी, लेखक तथा पत्रकारहरूसँग भेट गरिसकेका छन्। उनले प्रगतिशील लेखक संघ, पारिजात स्मृति केन्द्र, इच्छुक सांस्कृतिक प्रतिष्ठान, देवकोटा-लु सुन प्रतिष्ठानका पदाधिकारी अनि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूसँग पनि भेट गरी साहित्यिक तथा सिर्जनात्मक चर्चा गरेका छन्। कार्यक्रम सकिएपछि कर्मथलो गान्तोक फर्किने शर्माले जानकारी गराएका छन्।
Category: Art-literature
0 comments